नेपालमा बिभिन्न प्रकारका जग्गालाई बिभिन्न कानुनि शब्दावली दिइएको छ। हामी त्यही नेपालमा जग्गा संग सम्बंधित कानुनी शब्दावली बारे चर्चा गर्नेछौँ ,जसको महत्त्व जग्गा खरिद, बिक्री र व्यवस्थापनका क्रममा धेरै हुन्छ।
१. ससिम जग्गा (Sasim Jagga):
कुनै एउटा कित्ता नम्बरको क्षेत्रफल भित्र समेटिएको सम्पुर्ण जग्गालाई ससिम जग्गा भनिन्छ। बिशेष गरि जग्गा लेनदेन गर्दा यो शब्द प्रयोग गरिन्छ । ससिम भनेको सम्पुर्ण वा सबै हो । जस्तै १ नम्बर कित्ताको क्षेत्रफल ५ रोपनी छ , तपाइले ससिम जग्गा (Sasim Jagga) किन्दै हुनुहुन्छ भनेको सम्पुर्ण ५ रोपनि किन्दै हुनुहुन्छ भनिएको हो।
२. कित्ताकाट(Kitta Kat):
कित्ताकाट भनेको कुनै एउटा कित्तालाई काटेर एक भन्दा धेरै कित्ता बनाउनु हो। जस्तै तपाईले १ नम्बर कित्ताबाट पुरै ५ रोपनि नभएर ३ रोपनि मात्र लिदै हुनुहुन्छ भने कित्ताकाटेर नयाँ नक्सा र नया कित्ता बनाएर ३ रोपनि लिनुहुनेछ । कित्ताकाट(Kitta Kat) गरेपछि पुरानो कित्ता नम्बरलाई साबिक कित्ता नम्बर भनिन्छ । नयाँ कित्ताको कित्ता नम्बर नापी शाखाले क्रमश त्यस वडामा कति कित्ता आइपुगेको छ त्यहि कायम गर्नेछ ।
३. नरबढी(Narbadhi):
यदि तपाईको लालपुर्जामा भएको क्षेत्रफल भन्दा नक्सामा बढि छ र तपाईले पनि बढि क्षेत्रफल नै भोगचलन गर्नु भएको छ भने त्यो जग्गालाई नरबढी (Narbadhi) जग्गा भनिन्छ। त्यस्तो जग्गामा तपाईले मालपोत कार्यालयमा क्षेत्रफल अद्यावधिक गरिपाउ भनेर निवेदन दिन सक्नुहुनेछ।
४. नरघटी (Narghati):
नरबढीको बिपरीत नरघटी हो। नरघाटी भनेको तपाईको लालपुर्जामा भन्दा नक्सामा र भोग चलनमा जग्गाको क्षेत्रफल कम छ भने त्यसलाई नरघटी भनिन्छ। यदि साँध-सधियारमा जग्गा लालपुर्जा अनुसार बढाउन मिल्ने अवस्था छैन भने पछि बेचबिखन गर्दा समस्या हुनसक्छ र तपाईले जग्गाको कर (मालपोत तिरो) पनि बढि तिरिरहनु पर्ने हुन्छ त्यसैले मालपोत कार्यालयमा नरघटी (Narghati) कायम गर्न निवेदन दिन सक्नुहुनेछ ।
५. ऐलानि जग्गा (Ailani Jagga) :
ऐलानि जग्गा भनेर कानुनले ठ्याक्कै परिभषित गरेको छैन । ऐलानि वा पर्ती जग्गा (Ailani / Parti Jagga) भनेको सरकारी वा सार्वजनिक जग्गा भनेर बुझ्नुपर्छ ।
ऐलानि जग्गा बारे वृस्तित रुपमा पढ्न यो लिङ्कमा जानुहोस्: Understand Ailani Jagga/ Parti Jagga: Can You Register It in Your Name?
६. रैकर जग्गा (Raikar Jagga):
हाम्रो निजी स्वामित्वमा रहेको जग्गालाई रैकर जग्गा भनिन्छ । रैकर भन्ने शब्द सस्कृतको राज्य र कर बाट आएको भन्ने मानिन्छ जसको अर्थ हो राज्यलाई कर बुझाईएको जग्गा। हामी हाम्रो नाममा दर्ता भएको जग्गालाई बार्षिक रुपमा कर (तिरो वा कुत) बुझाएर भोगचलन गर्छौ । राज्यलाई कर बुझाएर खेती-पाती गर्छौ वा घर बनाएर बसिराको हुन्छौँ वा किनबेच गरिरको हुन्छौ, त्यस्तो जग्गालाई रैकर जग्गा (Raikar Jagga) भनिन्छ ।
७. सरकारी सम्पति (Sarkari Sampati):
मुलुकी देवानी संहिता,दफा २९९ ले सरकारको स्वामित्व, हक वा अधिनमा रहेको सम्पतिलाई सरकारी सम्पति भनेको छ। सरकारी सम्पतिमा सरकारी घर, भवन, जग्गा, सडक,बाटो, रेलवे, वनजंगल, खोलानाला, पोखरी,नहर,कुलो, ऐलानि पर्ती जग्गा, खनिज वा खनिज पदार्थ, हिमाल,पहरा आदि पर्दछ्न्। सार्वजनिक, सामुदायिक, गुठि वा कुनै व्यक्ति, संस्थाको नाममा रहेको जग्गा बाहेक सबै सम्पति सरकारी सम्पति ( Sarkari Sampati) हो।
८. सार्वजनिक सम्पति (Sarvajanik Sampati):
त्यस्तै मुलुकी देवानी संहिता, दफा ३०० ले सार्वजनिक प्रयोजनमा रहेका देहायका सम्पतिलाई सार्वजनिक सम्पति मानेको छ । जस्तै परपुर्वकाल देखि सार्वजनिक सम्पतिको रुपमा रहेका घर जग्गा, ढल,बाटो, कुवा,धारा, पंधेरो, ईनार, पोखरी, गौचर, अन्त्यष्टि स्थल, चिहान, पाटी पौवा, मठ-मन्दिर, स्मारक, गुम्बा, मस्जिद, सार्वजनिक प्रयोजनका लागि कसैले प्रदान गरेको निजि सम्पति आदि सार्वजनिक सम्पति हुन्। सार्वजनिक सम्पति (Sarvajanik Sampati)को स्वामित्व सार्वजनिक संस्था वा नेपाल सरकारको हुनेछ र संरक्षण गर्ने दयित्व हामी सबैको हुनेछ ।
९. सामुदायिक सम्पति (Samudayik Sampati):
कुनै समुदायले आफ्नो प्रयोगको लागि राखेको जग्गा र त्यस्तो जग्गामा बनाएको कुनै संरचना वा समुदायको स्वामित्वमा रहेको अन्य सम्पतिलाई सामुदायिक सम्पति (Samudayik Sampati) भनिन्छ ।
निष्कर्ष
ससिम, कित्ताकाट, ऐलानी, रैकर लगायतका जग्गाको भिन्न प्रकारहरूलाई बुझेर गरिने निर्णयहरूले भविष्यमा तपाईलाई जग्गा सम्बंधि कामकाज गर्न सहयोग पुर्याउँछन्। आशा छ, यी जानकारीहरूले तपाईंलाई नेपालमा जग्गाको बारेमा एक स्पष्ट बुझाइ दिनेछन्।
हामी संग जोडिनुहोस्
यो फर्म भर्नुहोस् र घर जग्गा सम्बन्धि जानकारी र अन्य कुनै पनि सेवा लिनुपरेमा हामी सम्पर्क गर्नेछौँ ।
छलफलमा सामेल हुनुहोस्