खोज्नुहोस्
मूल्य अन्तर :

नेपालमा घर जग्गा पास (Jagga Pass) र लालपुर्जा दर्ताको प्रक्रिया, खर्च र चाहिने कागजात बारे बुझिराखौँ ।

jagga pass kharcha ra lalpurja naamsari prakriya rah kagjaat

नेपालमा घर जग्गा किनबेच र जग्गा पास (Jagga Pass) ‘कागजाज प्रणाली’ अन्तर्गत हुन्छ जसलाई अंग्रेजीमा Deed System भनिन्छ , जहाँ सरकार सम्पत्ति लेनदेनको साक्षीको रूपमा मात्र हुन्छ तर स्वामित्त्वको ग्यारेन्टी भने गर्दैन । नेपालमा घर-जग्गा किन-बेच र लालपुर्जा (Lalpurja) दर्ता वा नामसारी गर्दा स्पष्ट कानुनी प्रक्रिया अपनाइन्छ । यदि तपाइँ घरजग्गा किन-बेच गर्ने योजना गर्दै हुनुहुन्छ भने यी सम्पुर्ण प्रक्रिया, चाहिने कागजात र जग्गा पास गर्दा लाग्ने खर्च (Jagga Pass Kharcha) बारे बुझ्न एकदम जरुरी हुन्छ।

यो लेखमा हामीले घर जग्गा किनबेच र जग्गा पास (Jagga Pass) गर्दाको प्रक्रिया, चाहिने कागजाजहरु र लाग्ने दस्तुर र करको बारेमा चर्चा गर्नेछौँ ।

१. घरजग्गा किनबेच, जग्गा पास (Jagga Pass) र लालपुर्जा नामसारी (Lalpurja Naamsari) प्रक्रियाहरु:

१.१. घरजग्गा किन्ने र बेच्ने बिच वार्तालाप र समझदारी

कुनै पनि औपचारिक प्रक्रिया सुरु गर्नु अघि किन्ने र बेच्ने बिच मूल्य र अन्य सर्तहरूमा कुराकानी र समझदारी हुनपर्छ।

१.२. घर जग्गा रोक्का (Jagga Rokka) बारे बझ्नुपर्छ

मालपोत कार्यालयमा घर जग्गा रोक्का (Jagga Rokka) छ कि छैन भनेर बुझ्नुपर्छ। धितो राख्न , लेनदेन विवाद, जग्गाको कर नबुझाएर वा अन्य बिभिन्न कारणले जग्गा रोक्का हुन पनि सक्छ । त्यसैले कारोबार गर्नु भन्दा अगाडि कानुनी जटिलताबाट मुक्त हुन घर जग्गा रोक्का छ कि छैन भनेर बुझ्नुपर्छ।

१.३. स्थानीय घर र जग्गाको कर (Tiro) बुझाएको हुनपर्छ 

मालपोत कार्यालयको प्रक्रिया सुरु गर्नु अघि स्थानिय निकाय वा वडा कार्यालयमा चालु आर्थिक वर्षको जग्गा कर (Tiro) र घरको कर तिरेको हुनुपर्छ ।

१.४. वडा कार्यालयबाट घर-बाटो सिफारिस (Ghar Bato Sifaris) लिनुपर्छ 

किनबेच हुन लागेको घर जग्गा पर्ने वडा कार्यालयबाट घर-बाटो सिफारिस (Ghar Bato Sifaris) लिनुपर्छ । उक्त सिफारिसमा सो जग्गा बाटोले छोएको छ कि छैन, बाटोको प्रकृति कस्तो छ, जग्गामा घर छ कि छैन भन्ने कुराहरु जनाईएको हुन्छ।

१.५. क्रेताद्वारा बिक्रेतालाई घर वा जग्गाको रकम भुक्तानी

किन्ने व्यक्तिले बेच्ने व्यक्तिलाई कबुल गरेको रकम भुक्तानी गर्नुपर्नेछ । बिक्रेताको बैंक खातामा रकम जम्मा गरेको भौचर मालपोतमा आवश्यकता पर्ने हुनाले भौचर सुरक्षित राख्नुपर्छ।

१.६. राजिनामा लिखित (Rajinama Likhit) तयार गर्ने

जग्गा पास (Jagga Pass) प्रक्रिया औपचारिक रुपमा अघि बढाउन बिक्रेता वा जग्गा पास गर्ने व्यक्तिले क्रेता वा जग्गा पास लिने व्यक्तिलाइ जग्गा स्वामित्व सार्न लेखापढिद्वारा राजिनामा लिखित तयार गराउनुपर्छ।

१.७. कागजात मालपोत कार्यालय बुझाउने

घर जग्गा पास (Ghar Jagga Pass) का सम्पूर्ण कागजातहरु मालपोत कार्यालय (Malpot Karyalaya)मा प्रमाणितका लागि बुझाउनुपर्छ। चाहिने कागजातहरु तल चर्चा गर्नेछौं।

१.८. कित्ताकाट (Kitta Kat) गर्नुपर्ने भए नापि शाखामा निवेदन गर्ने

मालपोत कार्यालयमा मोठ भिडाई सकेपछि यदि जग्गा कित्ताकाट गरेर पास गर्नुपर्ने हो भने नापि शाखामा कित्ताकाटको लागि निवेदन दिएर कित्ताकाट (Kitta Kat) गर्नुपर्छ।

१.९. मालपोत कार्यालयमा राजश्व र लाभ कर (Labh Kar) तिर्नुपर्छ

मालपोत कार्यालयमा जग्गा पास (Jagga Pass)को राजश्व दस्तुर र लाभ कर (Labh Kar) बुझाउनु पर्छ। राजश्व किन्ने व्यक्तिले बुझाउने हो भने लाभ कर बेच्ने व्यक्तिले बुझाउने हो । राजश्व र लाभ कर (Labh Kar) के कति लाग्छ भनेर हामीले तल चर्चा गरेका छौँ ।

१.१०. मालपोत कार्यालयले राजिनामा प्रमाणित र स्विकृत

मालपोत कार्यालयले (Malpot karyalaya) सम्पूर्ण कागजातहरु पुरा भयो भने र प्रक्रिया पुरा भयो भने राजिनामा स्विकृत गर्नेछ र प्रमाणित गर्नेछ। यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा घर जग्गा पास हुनेछ र मालपोत कार्यालयले जग्गा लिने व्यक्तिको नाममा नयाँ जग्गाधनि दर्ता प्रमाणपुर्जा (Lalpurja) प्रदान गर्नेछ।

१.११ जग्गा श्रेस्ता अद्यावधिक हुने

अन्तिममा नयाँ जग्गाधनिको नाम उक्त जग्गाको श्रेस्तामा अद्यावधिक हुन्छ। 

२. घर जग्गा पास (Ghar Jagga Pass) गर्दा चाहिने कागजातहरु

घर जग्गा पास गर्नका निमित्त निम्न कागजातहरु आवश्यक पर्छ:

  • वडा कार्यालयबाट घर बाटो सिफारिस (Ghar Bato Sifaris)

  • चालु आर्थिक वर्षको तिरो तिरेको रसिद (Tiro Rasid)

  • हालको जग्गाधनि दर्ता प्रमाणपुर्जा (Lalpurja)

  • नागरिकता प्रमाणपत्र (पास लिने र दिने दुबैको)

  • अगाडिको राजिनामा लिखित (Rajinama likhit)

  • कारोबार भुक्तानी पुर्ण रकमको बैंक भौचर 

  • गुठी कार्यालयको सिफारिस (गुठी जग्गा हो भने)

३. घर जग्गा पास गर्दा लाग्ने खर्च, राजश्व र कर (Ghar Jagga Pass Kharcha)  

३.१. वडा कार्यालयमा सिफारिसको दस्तुर

गाउँपालिका वा नगरपालिका अनुसार वडा कार्यालयले घर बाटो सिफारिस (Ghar Bato Sifaris) दस्तुर फरक फरक लिने गरेको पाईन्छ। प्राय घर बाटो सिफारिस दस्तुर रु १००० लिईन्छ।

३.२. जग्गा पास (Jagga Pass) राजश्व दस्तुर:

जग्गा पास गर्दा लाग्ने राजश्व, जग्गा पास लिनेले तिर्नु पर्छ। राजश्व कति लाग्छ भन्ने तय सो जग्गा कुन स्थानिय निकायमा पर्छ भन्ने कुराले गर्छ। जस्तै:

  • महानगरपालिका: 5% (जम्मा सम्पति मुल्यमा)

  • उपमहानगरपालिका: 4.5%

  • नगरपालिका र गाउँपालिका: 4%

  • महिलाको नाममा जग्गा पास गर्दा: नगरपालिकामा 30% र गाउँपालिकामा 25% राजश्व छुट हुन्छ

३.३. सम्पति लाभ कर (Labh Kar):

घर जग्गा बिक्री मुल्य १० लाख भन्दा बढी छ भने बिक्री गर्नेले सम्पति लाभ कर (Labh Kar) तिर्नुपर्छ। लाभ करका दरहरु निम्न रहेका छन्:

  • बिक्री गर्न लागिएको जग्गा किनेको ५ वर्ष पुगेको छैन भने : 7%

  • बिक्री गर्न लागिएको जग्गा किनेको ५ भन्दा धेरै भयो भने : 5%

वृस्तितमा पढ्नुहोस् : घर जग्गा बिक्री गर्दा कति लाभ कर तिर्नुपर्छ ?

मुख्य बुदाँहरु:

  • नेपालमा घर जग्गा पास ‘कागजी प्रणाली’ अन्तर्गत गरिन्छ जसमा सरकारले साक्षीको भुमिका निर्वाह गर्छ । सरकारले कसैको पनि सम्पति स्वामित्वको ग्यारेन्टी गर्दैन।
  • लेनदेनको कुराकानी देखि घर जग्गाको लालपुर्जा (Lalpurja) प्राप्त गरुनजेल सम्म खरिदकर्ताहरूले बिभिन्न निश्चित प्रक्रियाहरु अपनाउनु पर्दछ।
  • घर जग्गा पासको क्रममा कानुनी समस्याहरूबाट बच्नको लागि सही राजश्व दस्तुर र करहरू तिर्नु महत्त्वपूर्ण छ।

यी प्रक्रियाहरु बुझेर, खरिदकर्ता र विक्रेताहरूले नेपालमा कानूनी आवश्यकताहरू पूरा गर्दै घर जग्गा पास सफलतापूर्वक पुरा गर्न सक्नेछन् ।

 

नेपालमा घर जग्गा पास (Ghar Jagga Pass) सम्बन्धि सोधिरहने प्रश्न:

  • 1. नेपालमा ‘कागजी प्रणाली’ (Deed System) भनेको के हो?

    नेपालमा जग्गा पास गर्दा लिने र दिने बिच कागज गराएर र त्यसलाई प्रमाणित गराएर गरिन्छ जसलाई अग्रेजीमा Deed System भनिन्छ जहाँ सरकारले साक्षीको रूपमा काम गर्दछ, तर जग्गा स्वामित्वको ग्यारेन्टी गर्दैन।

     

  • 2. नेपालमा जग्गा पास गर्न के-के कागजातहरू आवश्यक पर्दछ?

    आवश्यक कागजातहरूमा घरबाटो सिफारिस (Ghar Bato Sifaris), जग्गा कर तिरेको भौचर (Tiro Rasid), हालको लालपुर्जा, खरिदकर्ता र बिक्रेता दुवैको नागरिकता प्रमाणपत्र, प्यान कार्ड (PAN) को प्रतिलिपि, अघिल्लो राजिनामा लेखित र बैंक भौचर पर्दछ।

     

  • 3. जग्गा पास (Jagga Pass) लिंदा मालपोत कार्यालयमा कति राजश्व बुझाउनु पर्छ?

    खरिदकर्ताले राजश्व शुल्क उक्त जग्गा महानगरपालिका, उपमहानगरपालिका वा नगरपालिका/गाउँपालिका कहाँ पर्छ भन्ने आधारमा 4% देखि 5% सम्म तिर्नुपर्ने हुन्छ। महानगरपालिकाका लागि ४%, उपमहानगरपालिकाका लागि ४.५% र नगरपालिका र गाउँपालिकाका लागि ४% राजश्व दस्तुर तिर्नुपर्छ ।

     

  • 4. नेपालमा जग्गा पास गर्दा महिलाहरूलाई छुट छ?

    हो, महिलाहरूले नगरपालिका र गाउँपालिका अनुसार दर्ता राजश्व दस्तुरमा क्रमशः २५% देखि ३०% छुट पाउँछन्।

  • 5. जग्गा बेच्दा पूँजीगत लाभकर (Labh Kar) कति लाग्छ?

    घर जग्गा बिक्री मुल्य १० लाख भन्दा बढी छ भने बिक्री गर्नेले सम्पति लाभ कर (Labh Kar) निम्न दरहरुमा तिर्नुपर्छ:
    जग्गा किनेको ५ वर्ष पुगेछैन भने ७%
    जग्गा किनेको ५ देखि १० वर्ष पुगेको छ भने ५%
    बिक्री गर्न लागिएको जग्गा किनेको १० वर्ष भन्दा बढी पुगेको छ भने: लाभ कर लाग्दैन

     

  • 6. नेपालमा जग्गा पास (Jagga Pass) गर्दा स्थायी लेखा नम्बर (PAN) कार्ड आवश्यक पर्छ?

    हो, साउन २०८१ देखि नेपालमा जग्गा पास गर्दा किन्ने र बेच्ने दुवैको प्यान कार्ड (PAN Card) को प्रतिलिपि आवश्यक पर्छ।

  •  

हामी संग जोडिनुहोस्

यो फर्म भर्नुहोस् र घर जग्गा सम्बन्धि जानकारी र अन्य कुनै पनि सेवा लिनुपरेमा हामी सम्पर्क गर्नेछौँ ।

Also Read: How to Transfer Land Ownership from Abroad as a Nepalese Citizen: A Complete Guide

छलफलमा सामेल हुनुहोस्